हिरासतमा बिन्दास प्रसाईं

  काठमाडौं । तीनकुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं करिब एक सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

हिरासतमा रहेका प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका बारेमा कुनै ग्लानी छैन । बरु उनी बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै छुट्नेमा आत्मविश्वासी देखिन्छन् । भारतको आसाममा २८ चैतमा पक्राउ परेर २९ चैतमा काठमाडौं ल्याउने क्रममा समेत उनले आफैं आएको दाबी गरेका थिए ।

प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत लाने-ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर पोज दिइहाल्ने प्रसाईं शैली हिरासतमा पनि उस्तै रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रसाईं पक्राउ परेपछि अदालत जाने क्रममा समेत अन्टसन्ट बोलेर हैरान पार्नसक्ने चिन्ता प्रहरी अधिकारीलाई थियो । हुन पनि, पक्राउ परेपछि झापाको चन्द्रगढीस्थित विमानस्थलबाट काठमाडौं ल्याउने क्रममा विमान भित्रैबाट प्रधानमन्त्री केपी ओलीलाई यो फोटो पठाइदिनू भन्दै अभिव्यक्ति दिएका थिए ।

त्यस्तै किसिमको अभिव्यक्ति दिनसक्ने भन्दै प्रहरीले अधिकारीहरूले प्रसाईंलाई निकै सतर्क भएर अदालत लाने-ल्याउने गरिरहेका छन् । उनको यो शैली हिरासतमा पनि यथावत रहेको प्रहरी अधिकारीहरू बताउँछन् । आफूलाई भेट्न आउनेहरूसँग प्रसाईंले सरकारप्रति निकै आक्रामक भएर बोल्ने गरेको स्रोत बताउँछ ।

 ‘सरकार र नेताहरूको निकै आलोचना गरेको सुनिन्छ । भेट्न आउनेलाई उही ठट्यौली शैलीमा बोल्ने गर्छन्,’ परिसर स्रोत भन्छ । दुई जनाको ज्यान गएको तीनकुने घटनाका मुख्य कमान्डर प्रसाईंमा यसबारे समेत कुनै चिन्ता नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी स्रोतका अनुसार उनलाई भेट्न परिवार र आफन्त हिरासत पुगेका छन् । नियमितजसो आफन्त र परिवारका मान्छेहरू भेट्न हिरासत पुगे पनि राजावादी भनिएका कुनै उच्च तहका नेता अहिलेसम्म प्रसाईंलाई भेट्न नआएको परिसरका एक अधिकृत बताउँछन् ।

प्रसाईंले सरकार र नेताविरुद्ध अन्टसन्ट बोल्ने हुन् कि भनेर प्रहरी अधिकारीहरू सतर्क हुने गरेका छन् ।

यही घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महासचिव तथा सांसद डा. धवल शमशेर राणालाई भेट्न उनीहरूका शुभचिन्तकदेखि राप्रपाका नेताहरू पुगे पनि प्रसाईंको हकमा भने कुनै चिनिएका नेता भेट्न नआएको हिरासत स्रोतले बतायो ।

प्रसाईं हिरासतमा एक्लै बस्दै आएका छन् । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई समेत अलग्गै राखिएको छ । यसबारे परिसर भन्छ, ‘परिसरमा ठूलो हिरासत कक्ष छ । पहिलाको जस्तो कोचाकोच गरेर राख्नुपर्ने अवस्था छैन । त्यही भएर प्रसाईंलाई छुट्टै राखिएको हो ।’ २९ चैतदेखि परिसरको हिरासतमा रहेका प्रसाईंको बयान सुरु भएको छैन । अहिलेसम्म प्रहरीले उनीमाथि अनुसन्धान गर्ने र सामान्य सोधपुछ मात्रै गरेको छ । केही दिनपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं उपस्थित गराएर बयान सुरु गरिने प्रहरीले जनाएको छ ।

यही घटनामा पक्राउ परेका मिश्र र राणाको भने सोमबार र मंगलबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । दुई दिनपछि उनीहरूको बयान सकिएको र थप अनुसन्धान गर्दा केही खुलेमा फेरि बयानको काम हुने सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले बताए । मिश्र र राणाविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा बयान लिइए पनि प्रसाईंविरुद्ध भने अन्य कसुर पनि थपिने भएको छ ।

राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका छन् । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।

 यसका साथै आपराधिक उपद्रवको कसुरमा पनि प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको छ । अहिलेसम्म प्रसाईंविरुद्ध एक साथ चार वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोहको कसुर, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको थियो । यसमा ज्यान मार्ने उद्योगको कसुर र आपराधिक उवद्रव पनि थपिएसँगै चार वटा कसुरमा एक साथ अनुसन्धान अघि बढाइएको हो ।

झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए । उनैको महाअभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ चैतमा तीनकुनेमा सभा गर्नका लागि अनुमति दिएको थियो ।

राजा फर्काउने दाबी गर्दै १५ चैतमा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भयो । तर उक्त प्रदर्शन हिंसात्मक बन्यो । व्यक्तिको घर जलाइए । पसल, मार्ट तोडफोड भए । सवारी साधन जलाइए । प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र प्रदर्शनकारीले घरमा लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो ।

१५ चैतको घटनामा ८२ जनाविरुद्ध मुद्दा चलाउने तयारी छ । अहिले ७४ जना जना परिसरको हिरासतमा छन् । भाटभटेनी तोडफोड गर्दा छरिएका फलफूल टिपेको आरोपमा पक्राउ परेका ८ जनालाई भने हाजिरी जमानीमा छाडिएको छ । तर उनीहरूविरुद्ध पनि मुद्दा भने चलाइने परिसरका एसपी अपीलराज बोहराको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका तीन वर्ष : रास्वपा अब तन्नेरी बन्ने कि सुकेनासले थलिने ?

  झलक सुवेदी तीन वर्ष पहिले २०७९ असार ७ गते गैर–परम्परागत शैली अपनाउने टेलिभिजन पत्रकारको परिचय भएका रवि लामिछानेको नेतृत्वमा नेपालमा नयाँ राजनीतिक दलको घोषणा गरियो । त्यसको पृष्ठभूमिमा थियो– महिना दिन ...

‘म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन’

img

 विकास श्रेष्ठ सात वर्षसम्म शीतलनिवासमा रहेर डेढ वर्षअघि निवृत्त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अचेल मदन भण्डारी ...

दसैं त बसाइँ सरेछ !

  सन्तोष रिमाल बस्टन (अमेरिका), असोज २७ बस्टन नजिकैको 'ब्लु हिल' उक्लँदैछौं। पात पहेँलिएर वन नै केसरी पोखिएजस्तो देखिँदा डाँडाको नाम कस्तो अमिल्दो! 'यता आकाश नीलो र जंगल पहेँलो भएपछि नेपालमा दसैं आउँछ,' प्रकृतिको ...

दसैं त बसाइँ सरेछ !

  सन्तोष रिमाल बस्टन (अमेरिका), असोज २७ बस्टन नजिकैको 'ब्लु हिल' उक्लँदैछौं। पात पहेँलिएर वन नै केसरी पोखिएजस्तो देखिँदा डाँडाको नाम कस्तो अमिल्दो! 'यता आकाश नीलो र जंगल पहेँलो भएपछि नेपालमा दसैं आउँछ,' प्रकृतिको ...

उर्लाबारी नगरपालिकाले १९ सय परिवारको नि:शुल्क स्वास्थ्य विमा गर्दै

img

उर्लाबारी, ६ बैशाख । उर्लाबारी नगरपालिकाले नगरभित्रका १ हजार ९ सय घरपरिवारको ...

"एमालेको फुटले कार्यकर्तालाई मात्र हैन जनतालाई नै निराश बनायो"

img

अनु पुरी दमक, झापा १५ वर्षसम्म नेकपा एमालेको नेतृत्व गर्नुभएका माधवकुमार नेपालले अन्तत : नेकपा ...

पत्रपत्रिका

सबै