१२ दिन लगाएर देशभर सक्रिय मनसुन
काठमाडौं । यस वर्षको मनसुन प्रणाली आजदेखि देशैभर सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार करिब १२ दिन लगाएर मनसुन देशैभर सक्रिय भएको हो ।
यस वर्षको मनसुन प्रणाली असार ५ गते नेपालको पूर्वीभागबाट प्रवेश गरी कोशी प्रदेशको केही भागसम्म विस्तार भएको थियो । असार ८ गतेदेखि कोशीको बाँकी सबै भाग, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भागका केही स्थानमा विस्तार भएको थियो ।
नेपालमा साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुन एक हप्तामा देशभर सक्रिय हुने गर्दछ । यसवर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको थियो । मौसम पूर्वानुमान महाशाखाले मौसमको सूचनाको जानकारी लिई सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।