पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी !

काठमाडौंं: छात्रावास (होस्टेल) नाम सुन्नेबित्तिकै हामी सम्झिन्छौँ,-जहाँ घरबाट टाढा अध्ययन गरिरहेका विद्यार्थीहरू ढुक्कले बस्न र खानका लागि निकै सहज तथा सुरक्षित विकल्प हो। हामी त्यही साेच्छाैँ। होस्टेलमै समयमा खान पाइने,सुरक्षित,बिरामी हुँदा हेरचाह हुने र पढ्नसमेत सहज हुने भएकाले अधिकांश अभिभावकहरू आफ्नाे छोराछोरी होस्टेलमा राख्छन्।
तर,अहिले यीनै होस्टेल असुरक्षित बन्दै गएको छ। कतिपय होस्टेलमा बस्नेहरू लागुऔषधमा फसेका छन भने कसैको कुटपिटबाट ज्यानै गएको छ।
शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको घटनाले त झन होस्टेल सञ्चालनमा गम्भीर प्रश्न नै खडा भएको छ।
भदौ ५ गते सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गर्दा दाङको घोराही उपमहानगरपालिका-१७ घर भई होस्टलमा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भयो।
यो घटनाले होस्टेलमा बसिरहेका छोराछोरीका अभिभावकहरूलाई चिन्तित तुल्याएको छ भने याे विषय संसदमासमेत प्रवेश गरेको छ। पछिल्लो समय काठमाडौंं उपत्यकाभित्र पाइलै पिच्छे होस्टेल सञ्चालनमा छन्। तर,ती होस्टेलहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंंले अनुगमनको क्रममा काठमाडौंं महानगरपालिका वडा-३२ अमरावती मार्गमा रहेको ‘न्यू फेमिली गल्स होस्टेल’ले लापारबाही ढंगले सञ्चालन गरेको पाएपछि केहीदिन अघि तीन लाख जरिवानासमेत गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंंका अनुसार जिल्लाभित्र निजी ढंगबाट सञ्चालनमा रहेका होस्टेलहरूमा नियमित एवं आकस्मिक रूपमा अनुगमन गर्दा विद्यार्थीहरूलाई मानवीय व्यवहार नभएको एवं यातना समेत दिने गरेको, लाग्ने शुल्क भन्दा बढी असुल उपर गर्ने गरेको पाइएको छ।
कमजोर खालका पूर्वाधारहरू रहेको, सरसफाइमा ध्यान नदिएको, खाना तथा पानी लगायतका स्वच्छता सम्बन्धी मापदण्ड पुरा नगरेको, पुरूष र महिलाका लागि अलग अलग प्रकारका व्यवस्थाहरू जस्तै सुरक्षा प्रबन्ध, शौचालय, बाथरूम, सुत्ने कोठाहरू लगायतका व्यवस्थाहरू पर्याप्त नभएको पाइएको छ।
त्यस्तै, लागुऔषधको समेत दुरूपयोग हुने गरेको, छात्रावास भित्रै झडप भई विद्यार्थीको मृत्यु समेत भएको, विद्यार्थीहरूका लागि मनोरञ्जन कक्ष, अध्ययन कक्ष, पुस्तकालय जस्ता व्यवस्थाहरू अपर्याप्त रहेको भनी बारम्बार गुनासोहरू आउने गरेको र घटनाहरू घट्ने गरेको देखिएको छ। काठमाडौंं महानगरपालिकाले पनि अनुगमन गर्दा मापदण्डअनुसार होस्टेल सञ्चालन नभएको जनाएको छ।
१८३ वटा मात्रै होस्टेल दर्ता
काठमाडौंं महानगरपालिकाभित्र सञ्चालन भएका होस्टेलमध्ये अनुगमनबाट मापदण्ड अनुरूप सञ्चालनमा देखिएका १८३ वटा होस्टेललाई मात्रै शिक्षा विभागबाट दर्ता गर्ने निर्णय गरेको छ। साउन २९ गते महानगरपालिकाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यी होस्टेललाई मात्रै शिक्षा विभागबाट र अनुगमन हुन बाँकी होस्टेलका हकमा वडाबाट अनुगमन गरेर वडामै दर्ता गरिने निर्णय गरेको हो।
शिक्षा विभागले गत वैशाख १४ गतेदेखि ५ वटा टोली बनाएर होस्टेलहरूको अनुगमन गर्दै आएको छ। मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षा सम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने र आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिनेलाई बन्द गर्ने लक्ष्यसहित ३ सय पूर्णाङ्कमा सूचक राखेर अनुगमन गरिएको थियो।
होस्टल व्यवसायी संघ नेपालका अनुसार काठमाडौंं उपत्यकाभित्र दर्ता भएका एक हजार र दर्ता नभएका ५ सय गरि करिब १५ सय भन्दा बढि होस्टेल सञ्चालनमा रहेका छन्। तर,यी सबै मापदण्डभित्र रहेका सञ्चालनमा छैनन्। यसबाट करिब ५०/५५ हजार विद्यार्थीहरूले सेवा लिइरहेको व्यवसायीहरूको दाबी छ।
के-के छन् मापदण्ड ?
काठमाडौंं महानगरपालिकाले होस्टेललाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरू र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ।
जसमा छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ। यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ। कोठाहरू फराकिला, खुल्ला हुनुपर्छ। कोठामा पर्याप्त प्रकाशसँगै हावा दोहोरो आउने जाने हुनुपर्छ।
आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ। कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ। न्यूनतम मापदण्डमा प्रत्येक १० जना विद्यार्थी बराबर कम्तिमा एउटा शौचालय हुनुपर्नेछ।
हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन। छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन। एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ। एकै सञ्चालकले दुवै छात्राबास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ।
कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन। सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्ने लगायत विभिज्ज मापदण्ड तोकिएका छन्। तर,यी मापदण्डअनुसार सबै होस्टेल सञ्चालन भएका छैनन्।
के भन्छ होस्टेल व्यवसायी ?
यता,होस्टल व्यवसायी संघ नेपालले भने केही होस्टेलमा देखिएका कमजोरीका आधारमा सबै व्यवसायलाई एउटै नजरले हेर्न नहुने र धेरै होस्टेल राम्रो व्यवस्थापन, जिम्मेवारपूर्ण र स्वास्थ्यवद्र्धक ढंगले सञ्चालन भइरहेको दाबी गरेको छ। होस्टेल व्यवसायी संघ नेपालका महासचिव देवराज कंडेलले दर्ता नभएका होस्टेलहरूका कारण दर्ता भएर सञ्चालनमा रहेका होस्टेलहरू मारमा परेको बताए।
‘हामी महानगरपालिकासँगसँगै रहेर होस्टेलको अनुगमन गरिरहेका छौँ,’उनले भने,‘मापदण्डमा रहेर सञ्चालन हुनुपर्छ,तर दर्ता नभएका होस्टेलहरूका कारण राम्रो सँग चलाइरहेको होस्टेललाई समस्या परेको छ,केही दिनअघि भएको होस्टेलको घटनाबारे के कसो भएको हो अनुसन्धान भइरहेको छ,अनुसन्धानमा हामीले पनि सहयोग गरिरहेका छौँ।’
उनले मापदण्डअनुसार होस्टल सञ्चालन गर्न संघबाट बारम्बार निर्देशन जारी गरिरहेको सुनाए। ‘होस्टेल भनेको विद्यार्थीहरूको दोस्रो घरजस्तै हो,त्यहाँ बसेका सबैलाई स्वास्थ्य खानपानसँगै राम्रो व्यावहार हुनुपर्छ,यसमा सबै होस्टेल व्यावसायी सचेत हुनुपर्छ,’उनले भने।
तर,केही होस्टेलहरूलाई भने दर्ता हुनबाट रोकिएको उनको गुनासो छ। ‘डेढ वर्षदेखि करिब पाँच सय होस्टेल दर्ता हुनबाट बञ्चित भएका छन्,महानगरमा भन्दा जिल्ला प्रशासनमा जानु भन्छ,जिल्ला प्रशासनले स्थानीय तहमै गर्नुभनेर झुलाइरहेको छ,कहिले ताल्चा लगाइदिन्छ,हाम्रो पिर मर्का पनि केन्द्र र स्थानीय तहले बुझिदिनुपर्छ,’उनले भने।
एक महिने अल्टिमेटम, अटेर गरे शिलबन्दी
जिल्ला प्रशासन कार्यालय काठमाडौंंले काठमाडौंंका होस्टेलहरूलाई एक महिनाभित्र तोकिएको व्यवस्था पूरा गर्न निर्देशन दिँदै उक्त समयमा नसच्याए शिलबन्दी गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन काठमाडौंंका सहायक जिल्ला अधिकारी एवं सूचना अधिकारी खिमराज भुसालले २१ बुँदे व्यवस्था पालना नगरे बन्द गर्ने बताए। जिल्ला प्रशासन काठमाडौंले छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने निर्देशन दिएको छ।
यस्तै, छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरूलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रूपमा रहने वातावरण तयार गर्ने,छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने पनि निर्देशन दिएको छ।
जिल्ला प्रशासनले तोकिएको निकायहरूमा छात्रावास अनिवार्य रूपमा दर्ता एवं नवीकरण गर्नुपर्ने,व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने,छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने लगायत २१ बुँदे निर्देशन जारी गर्दै एक महिनाभित्र उक्त व्यवस्था गर्नू भनेको छ।