हर्मुज अवरुद्ध र हाम्रै पूर्ण नियन्त्रणमा छ, ट्रम्पले झुट बोले : इरान

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ।
यससँगै महत्त्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरानबीचको दावी–प्रतिदावी थप चर्किएको छ। पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलघाँटी अवरुद्ध नरहेको भन्दै गरेका दावीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ। संस्थाका अनुसार जलघाँटी अझै अवरुद्ध छ र इरानले राखेका सर्त स्वीकार नभएसम्म त्यसलाई पुनः खोलिने छैन।
इरानको यस्तो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको र त्यसलाई कायम राख्ने बताएको केही घण्टापछि आएको हो। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी नौसेनाको उपस्थितिलाई ‘स्टिलको पर्खाल’को संज्ञा दिँदै इरानले त्यसविरुद्ध केही गर्न नसक्ने दावी गरेका थिए।
हर्मुजको जलघाँटी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो। विश्वमा हुने पेट्रोलियम व्यापारको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने भएकाले यहाँ हुने कुनै पनि लामो अवरोध वा तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, ढुवानी र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्न सक्छ।