कांग्रेस एकढिक्का बनाउने शेखर प्रयास सफल हाेला ?

काठमाडौँ : नेपाली कांग्रेसभित्रको विवाद समानान्तर गतिविधि हुँदै अहिले १५औँ महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गर्ने अवस्थासम्म पुगेको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको संस्थापन पक्षले महाधिवेशनको मिति घोषणा गरिसकेको अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा पक्षले त्यसलाई चुनौती दिँदै छुट्टै मिति र कार्यतालिका सार्वजनिक गरेको हो।

संस्थापन पक्षले गत चैत ११ गते आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि साउन २४ देखि भदौ १ गतेसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिकामा संशोधन गरे पनि महाधिवेशनको मिति भने परिवर्तन गरेन। बैठकले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णयलाई फेरबदल गरेकाे छैन।

देउवा पक्षले भने बुधबार र बिहीबार चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमार्फत छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। बैठकले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो।

देउवा पक्षको कार्यतालिकानुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तय गरिएको छ।

देउवा पक्षको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक विभिन्न समितिको गठनको जिम्मेवारी भने नेता शशांक कोइरालालाई दिएको छ। बैठकले केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठनको जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको हो।

त्यस्तै भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारीसमेत कोइरालालाई नै दिइएको छ।

मध्यस्थताको भूमिकामा शेखर

कांग्रेसभित्र सत्ता परिवर्तनसँगै नेता डा. शेखर कोइराला भने मध्यमार्गी भूमिकामा देखिएका छन्। यसअघि शेरबहादुर देउवा सभापति हुँदा इतर समूहमा गगन थापासँगै रहेका कोइराला थापा विशेष महाधिवेशनबाट सभापति बनेपछि पार्टीभित्र देखिएको राजनीतिक विभाजनलाई अन्त्य गरी कांग्रेसलाई एकढिक्का बनाउने प्रयासमा सक्रिय भएका हुन्।

यसैक्रममा कोइरालाले पछिल्लो समय पार्टीका विभिन्न तहका नेताहरूसँग निरन्तर छलफल र परामर्श गरिरहेका छन्। मंगलबार उनले पार्टीभित्रको आन्तरिक समस्या र विभाजन रोक्ने उपायबारे विभिन्न नेताहरूसँग छलफल गरेका थिए।

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा भएको छलफलमा धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, जीवन परियार, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईंसहितका नेता सहभागी थिए।

त्यसैगरी मीनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, दिलेन्द्र बडु, डा. गोविन्दराज पोखरेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भुपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ, हरि अधिकारी, विश्व अर्याल र हुर्मत न्यौपाने पनि छलफलमा सहभागी थिए।

संघीय सांसदहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती तथा राष्ट्रियसभा सदस्यहरू वासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायतको पनि सहभागिता थियो।

छलफलमा सहभागीमध्ये सुजाता कोइराला, जीवन परियार, डा. गोविन्दराज पोखरेल र दिनेश कोइराला भने सभापति गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका नेताहरू हुन्। यसले कोइरालाले पार्टीभित्रका फरक धार र समूहका नेताहरूलाई एउटै संवादमा ल्याउने प्रयास गरिरहेको देखिन्छ।

यसअघि शेखरले भदौ १४ गते इतर समूहका नेता शशांक कोइराला र भदौ १५ गते पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। ती भेटमा पार्टीभित्रको विवाद समाधान र महाधिवेशनलाई सहमतिका आधारमा अगाडि बढाउने विषयमा छलफल भएको थियो।

मंगलबारको छलफलमा शेखरले देउवा र शशांकसँग भएका भेटवार्ता सकारात्मक रहेको जानकारी सहभागी नेताहरूलाई गराएका थिए। उनले अब सभापति गगन थापासँग पनि भेटवार्ता गर्ने बताएका थिए।

शेखरसँगको भेटवार्ताका लागि तयारी भइरहेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। ‘उहाँ पार्टी एकढिक्का बनाउनका लागि निरन्तर छलफल र परामर्शमा हुनुहुन्छ। केही दिनअघि सबै पक्षका नेताहरूसँग सकारात्मक छलफल भएको छ। अब गगन थापासँग पनि भेटवार्ता छिट्टै हुने गरी प्रयास जारी छ’, उनले भने।

महाधिवेशनलाई साझा बनाउने प्रस्ताव

नेताहरूका अनुसार मंगलबारको छलफलमा शेखर कोइरालाले १५औँ महाधिवेशनलाई सबै पक्षको साझा महाधिवेशनका रूपमा अघि बढाउने प्रस्ताव राखेका थिए। त्यसका लागि तत्काल केन्द्रीय समितिमा थप सदस्य मनोनीत गर्ने वा संरचनागत विवाद बढाउनेभन्दा सहमतिको वातावरण बनाएर महाधिवेशनतर्फ अघि बढ्नुपर्ने उनको धारणा थियो।

शेखरनिकट एक नेताका अनुसार देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने इतर समूहको अडानबाट पछि हटेर असन्तुष्ट पक्षका अन्य मागलाई सम्बोधन गर्दै महाधिवेशनलाई साझा बनाउने प्रस्ताव कोइरालाले अघि सारेका छन्।

‘उहाँले सबै पक्षलाई समेट्ने गरी नयाँ प्रस्ताव ल्याउनुभएको छ। त्यसमा सभापति थापाकै नेतृत्वमा असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने र महाधिवेशनलाई साझा बनाउने कुरा छ’, ती नेताले भने।

कांग्रेसभित्रको विवाद समाधानका लागि सहमति अझै सम्भव रहेको नेता जीवन परियारको पनि धारणा छ। उनका अनुसार पार्टीभित्रको आन्तरिक समस्या संवादमार्फत समाधान गर्न सकिन्छ भन्ने विश्वास सभापति थापामा पनि हुनुपर्ने र त्यसका लागि सबै पक्षले लचकता देखाउनुपर्ने आवश्यकता छ।

‘पार्टीभित्रको आन्तरिक विवाद संवादमार्फत समाधान गर्न सकिन्छ भनेर पार्टी सभापति लागिरहनुभएको देखिन्छ। यता शेखर दाइ पनि झन् निरन्तर लागिरहनुभएको छ। त्यसले गर्दा पार्टी फुट्दैन भन्नेमा अझै आशावादी हुन सकिन्छ’, उनले भने।

पार्टी विभाजन रोक्न सहमतिको बाटोमा सबै पक्षले केही न केही त्याग गर्नुपर्नेमा नेता परियार जाेड दिन्छन्। ‘सबै अडिग रहेर त कहाँ हुन्छ? सहमतिका लागि कसैनकसैले त छाड्नुपर्‍यो नि। त्यसकारण दुवै पक्षले अलिअलि लचकता देखाउने हो भने मिल्ने कुरा टाढा छैन’‚ उनले भने।

कांग्रेसभित्र संस्थापन र देउवा पक्षले छुट्टाछुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि विवाद थप जटिल बने पनि शेखरको पछिल्लो सक्रियताले सहमतिको सम्भावनालाई भने पूर्ण रूपमा बन्द गरिसकेको छैन। अब थापा, देउवा, शशांक र शेखरलगायतका प्रमुख नेताबीच हुने संवादले कांग्रेसको महाधिवेशन कुन बाटोमा अघि बढ्छ भन्ने निर्धारण गर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

जेनजी विद्रोहपछिकाे एक वर्ष : बदलिएको नेपाली राजनीति

काठमाडौँ : ऐतिहासिक जेनजी विद्रोह नेपाली राजनीतिमा एउटा महत्वपूर्ण ‘टर्निङ प्वइन्ट’ बन्यो।वर्षदिनअघि भएको यो विद्रोहले सिंगो राजनीतिक ‘ट्रेन्ड’ नै परिवर्तन गरिदियो। राजनीतिक ब्यानर बाहिर भएको यो विद्रोहपछि राष्ट्रिय राजनीतिमा दल मात्रै होइन, पुस्ता नै ...

गगनसँग शेखरले भने– पार्टी जाेगाउन जे जति त्याग गर्न पनि तयार छु

काठमाडाैँ : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएकाे छ। आइतबार मध्याह्ण दुई नेताबीच भेट भएकाे काेइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।  भेटघाटका क्रममा दुई नेताबीच कांग्रेसभित्रको ...

नेपाली कांग्रेसले सदस्यता अद्यावधिकको समय ४ दिन थप्यो

img

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय ४ दिन थपेको छ ...

एमाले कार्यदल प्रतिवेदन : ओली प्रधानमन्त्री उम्मेदवार बन्दा चुनावमा रक्षात्मक बन्यौं

img

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय ...

पार्टीभित्र बहुमत जुटाउने गृहकार्यमा ओली

काठमाडौं । बागमती प्रदेश सरकार निर्माणमा देखिएको आन्तरिक मतभेद टुंग्याउँदै नेकपा एमालेले किरण थापामगरलाई नयाँ मुख्यमन्त्रीका रूपमा अगाडि बढाएको छ । प्रदेश संसदीय दलका नेतामा जगन्नाथ (जेन) थपलियालाई कायमै राखेर झक्तपुर–२ ...

रविजी! सरकार पुनर्गठन गर्नुहोस्‚ नत्र सुनामी आउँछ : बादल

काठमाडौँ : नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार तत्काल पुनर्गठन गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले ...

पत्रपत्रिका

सबै