अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार, सर्पले डसेका बिरामी भारततिर
काठमाडौं । सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) देशभर अभाव भएको छ । सर्पदंशका बिरामीको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यतिबेला एन्टिस्नेक भेनमको हाहाकार छ । औषधि अभाव भएपछि अस्पतालले सर्पदंशका बिरामीलाई उपचारका लागि अन्यत्र जानू भन्दै सूचना जारी गरेको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीसहितका जिल्लाबाट सर्पले टोकेका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । वर्षायाममा सर्पको बिगबिगी हुने गर्छ । असारदेखि भदौसम्म दैनिक औसत ८ जना सर्पले टोकेका बिरामी अस्पताल आउने गरेको र तीमध्ये करिब २ जनालाई एन्टिस्नेक भेनम आवश्यक पर्ने उनले बताए ।
मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त भएको एन्टिस्नेक भेनमको मौज्दात सकिएपछि उपचारमा समस्या परेको हो ।

‘अहिले सर्पदंश बढी हुने हुने समय हो । बिरामी आइरहेका छन्, तर औषधि दिन नसक्ने अवस्था भएपछि बाध्य भएर सूचना निकाल्नु पर्यो,’ प्रवक्ता सिंहले अनलाइनखबरसँग भने । अस्पतालमा एन्टिस्नेक भेनम उपलब्ध नभएपछि सर्पले डसेका बिरामीका लागि जोखिम बढेको छ । विशेषगरी विषालु सर्पले डसेको अवस्थामा समयमै एन्टिस्नेक भेनम दिन नसके ज्यानै जान सक्ने चिकित्सक बताउँछन् ।
डा. सिंहका अनुसार कोब्राले डसेको अवस्थामा विषको असर निकै छिटो देखिन सक्छ । कोब्राको टोकाइमा सामान्यतः ३० मिनेटदेखि तीन घण्टाभित्र लक्षण देखिन सक्ने र समयमै उपचार नपाए ज्यान जाने जोखिम उच्च हुने उनले बताए । त्यस्तै, करेतको टोकाइमा दुईदेखि १२ घण्टासम्ममा विषको असर देखिन्छ ।
‘त्यस्तो अवस्थामा समयमै एन्टिस्नेक भेनम दिन सकिएन भने गम्भीर समस्या आउन सक्छ,’ सिंहले भने, ‘तर सर्पले डसेका गम्भीर बिरामीलाई अस्पतालबाट फर्काउनु पर्ने बाध्यता भयो ।’ नारायणी अस्पतालमा औषधि अभाव भएपछि बिरामी सिमाना नजिकै भारतका अस्पतालमा गइरहेका छन् । निजी अस्पतालले सामान्यतया एन्टिस्नेक भेनम राखेर सर्पदंशको उपचार गर्दैनन् ।
‘नजिकै रक्सोलको अस्पतालमा औषधि उपलब्ध हुन्छ । केही विकल्प नभएपछि बिरामीहरू उतै गइरहेका छन्,’ डा. सिंह भन्छन् । गर्मी मौसममा सर्प बाहिर निस्कने हुँदा खेतबारीमा काम गर्दा सर्पको डसाइबाट कृषिजन्य काम गर्ने मानिस बढी प्रभावित हुने गरेका छन् ।
नेपालमा ९० प्रजातिका सर्प रहेको अभिलेख भएको पाइन्छ । जसमध्ये १७ प्रजातिका सर्प विषालु मानिन्छन् । नेपालमा करेत, कोब्रा र बाघे सर्प (रसेल्स भाइपर) बढी विषालु मानिन्छन् । यी ‘बिग थ्री’ भनेर चिनिने सर्पको डसाइले गम्भीर असर पार्छ र मृत्युको सम्भावना उच्च बनाउँछ ।
सर्पदंशबाट प्रभावित हुनेमा तराईका जिल्ला धेरै छन् । सरकारी निकायका अनुसार २६ जिल्ला अति प्रभावितभित्र पर्छन् । तीमध्ये २० वटा जिल्ला तराईका छन् भने चार वटा जिल्ला भित्री मधेश र पहाडमा पर्छन् ।
सर्पदंश विशेषज्ञका अनुसार सर्पले डस्नेबित्तिकै मानिस आत्तिने र डराउने गर्छन् । तर सबै सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्प विष नलाग्ने खालका हुन्छन् । २० प्रतिशत तल मात्र विषालु हुन्छन् र १० प्रतिशतको टोकाइमा मात्र उपचार गर्नु पर्ने हुन्छ ।
एन्टिस्नेक भेनम सामान्य औषधि जस्तो बजारका औषधि पसलमा सहजै किन्न पाइँदैन । राजगोमन वा करेत जस्ता अत्यन्त विषालु सर्पले टोकेको अवस्थामा एकै बिरामीलाई २० भाइलभन्दा बढी एन्टिस्नेक भेनम आवश्यक पर्न सक्छ ।
यति धेरै मात्रा प्रयोग गर्नु पर्दा उपचार खर्च निकै महँगो हुने भएकाले सर्वसाधारणका लागि आफ्नै खर्चमा खरिद गरेर उपचार गराउन कठिन हुन्छ । त्यसैले सरकारले एन्टिस्नेक भेनम आफैं खरिद गरी स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ । गोमन वा करेतले टोकेका बिरामीको अवस्था गम्भीर भएमा २० भाइलभन्दा बढी एन्टिस्नेक भेनम आवश्यक पर्छ ।
सर्पदंशका घटना बढिरहेका बेला लुम्बिनी प्रदेशमा पनि सर्पदंश उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनमको अभाव भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा अहिले १०० भाइल मात्रै एन्टिस्नेक भेनम मौज्दात छ । केन्द्रका निर्देशक डा. राजेन्द्रकुमार पण्डितका प्रदेशका अस्पताललाई मागअनुसार पर्याप्त मात्रामा एन्टिस्नेक भेनम उपलब्ध गराउन सक्ने अवस्था छैन ।
‘हामीसँग अहिले १०० भन्दा बढी भाइल मात्रै स्टक छ,’ पण्डितले भने, ‘अस्पतालहरूलाई पर्याप्त रूपमा दिन सक्ने अवस्था छैन ।’ लुम्बिनी प्रदेशमा विशेषगरी दाङ, बर्दिया तथा लुम्बिनी क्षेत्रका अस्पतालमा सर्पदंशका बिरामीको चाप बढी हुन्छ । प्रदेशले तत्कालका लागि एक ठाउँमा अभाव देखिए अर्को ठाउँबाट एन्टिस्नेक भेनम ल्याएर व्यवस्थापन गरिरहेको छ ।
‘जहाँ अभाव हुन्छ । त्यहाँ अरू ठाउँबाट ल्याएर व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने ।
विज्ञ भन्छन्– एन्टिभेनम नपाए ‘दोस्रो मौका’ हुँदैन
सरकारसँग सर्पको डसाइका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक छैन । युनिभर्सिटी अफ जेनेभा, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा प्रकाशित एक अध्ययनले प्रत्येक वर्ष ३७ हजार ६६१ जनासम्मलाई सर्पले टोक्ने र ३ हजार २२५ जनाको मृत्यु हुने गरेको देखाएको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन विषालु सर्पको टोकाइमा एन्टिभेनमलाई ‘लाइफ सेभिङ ड्रग’ भन्दै मौज्दात कुनै पनि अवस्थामा कमी हुन नहुने बताउँछन् ।
तराई क्षेत्रमा कोब्रा र करेत जस्ता अत्यन्त विषालु सर्पको टोकाइबाट गम्भीर अवस्था निम्तिन सक्छ । विशेषगरी करेत र कोब्राले टोकेपछि समयमै उपचार नपाए बिरामीको अवस्था केही मिनेटदेखि आधा घण्टा वा एक घण्टामै गम्भीर बन्न सक्छ ।
