अभाव भएको महिनौँपछि सरकारले बल्ल ल्यायो दुई लाख एआरभी भ्याक्सिन

काठमाडौं: अभाव भएको महिनौँपछि बल्ल सरकारले एन्टी रेबिज भ्याक्सिन (एआरभी) भ्याक्सिन खरिद गरेर ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप लगायतका स्वास्थ्य सामग्री खरिद गर्ने विभाग अन्तर्गको व्यवस्थापन महाशाखा, आपूर्ति शाखा प्रमुख चेतननिधि वाग्लेका अनुसार बुधबार मात्रै एक लाख ९० हजार भायल एआरभी आइपुगेको हो।
वाग्लेका अनुसार सरकारले ६ करोड ५० लाख बराबरको मूल्य बराबरको एक लाख ९० हजार भायल एआरभी भ्याक्सिन खरिद पश्चायत आइपुगेको हो। वाग्लेले भने, ‘लामो प्रयास पछि एक लाख ९० हजार भायल एआरभी खोप हिजो मात्रै आइपुगेको छ अब माग अनुसार देशभर पठाउने तयारी भइरहेको छ।’
यसअघि नेपालमा ल्याइने रेबिज विरुद्धको एआरभी भ्याक्सिन भारतीय कम्पनीबाट ल्याइँदै आएकोमा यसपटक भने सरकारले चिनिया कम्पनीबाट उक्त भ्याक्सिन ल्याएको हो। कुकुर लगायतका जनवारले टोकेर हुने प्राणघातक रोग रेविज विरुद्धको एआरभी खोप जनस्वास्थ्यको हिसाबले अत्यावश्यक खोप हो।
देशभरकै दैनिक सबैभन्दा धेरै एआरभी खोप लगाउँदै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सरकारले किनेर दिन नसकेपछि रेबिजविरुद्धको ‘एआरभी’ भ्याक्सिन आफैँले किनेर बिरामीलाई लगाउन थालेको थियो।
नियमित रूपमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य, सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सिफारिसमा व्यवस्थापन महाशाखाले देशभरका अस्पताल/स्वास्थ्य संस्थालाई दिने व्यवस्था छ। भ्याक्सिन बिरामीले भने नि:शुल्क पाउँछन्। यो पटक सरकारले समयमा नै एआरभी भ्याक्सिन खरिद गर्न नसक्दा समस्या भएको छ।
देशभर हरेक वर्ष करिब ३ लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको छ।
नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। १ करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।
एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। कतिपय देशले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन्।
यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्छ र उक्त जनावरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्छ।
यदि कुनै पनि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाउन सकियो भने रेबिज लाग्न पाउँदैन।
यदि खोप लगाइएन र रेबिज संक्रमण देखियो भने मानिसको मृत्यु हुन्छ‚ जसकारण रेबिजलाई प्राणघातक रोग भन्ने गरिन्छ। रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ।
