" प्रश्नै प्रश्न छन् यहाँ तर जवाफ छैन "
बुबाआमाको एकै बोली अब के गर्छस् ?
दाजुबहिनीको एकै बोली अब के गर्छस् ?
साथिभाईको पनि एकै बोली अब के गर्छस् ?
आफन्त ईष्टमित्रको पनि एकै बोली अब के गर्छस् ?
देख्ने चिन्ने समाजभित्रको पनि एकै बोली अब के गर्छस् ?
प्रश्नै प्रश्न ले आज म थला परेको छु
प्रश्नै प्रश्न ले आज म प्रश्नवाचक भई सबैको गला परेको छु ।।
दिल दिमागको पनि एकै बोली अब के गर्छस् ?
हरेक इन्द्रिय इन्द्रिय का पनि एकै बोली अब के गर्छस् ?
विद्वान् सन्त-अगस्तीका पनि एकै बोली, केहि गरीस् या यत्तिकै मरीस् ?
सफल हस्तीका पनि एकै बोली, केहि गरीस्
तँ शिखर नै चढिस्
प्रश्नै प्रश्न छन् यहा तर जवाफ छैन
चारैतिर चकमन्न रात , कङ्काल मात्र देख्छु तर कवाब छैन ।।
के गर्न सक्छस् , यो ठाऊँको लागि ?
के गर्न सक्छस, त्यो गरिविले हिलोमा भाँसिएको गाउँको लागि ?
के नै गर्न सक्छस् , त्यो उपचार नपाएर धामीझाँक्रीले समेत हार खाई जनता मासिएका क्षेत्रको लागि ?
के नै गर्न सक्छस् र ,त्यो परिवर्तनको नाममा जनआन्दोलनमा होमीएर नाशीएका नेत्रको लागि ?
के गर्न सक्छस् ,भोलीका लागि ?
के नै गर्न सक्छस् , निमुखाहरुको बोलीका लागि ?
के गर्न सक्छस् ,भ्रष्ट्रचारी मौलाएको देशमा ?
के नै गर्न सक्छस् , वेरोजगार युवाहरु अवसरै नपाएर बौलाएको देशमा ?
के गर्न सक्छस् ,माफीयाहरुले जरो गाडेको देशमा ?
के नै गर्न सक्छस् , योग्य युवाहरुले पाईला छाडेको देशमा ?
कस्तो समय यो .....
जताततै प्रश्नै प्रश्न मात्र आउने
तर जवाफ कतैबाट नआउने...;
के गर्न सक्छस्, कोभिडले गुमाएका आत्माहरुको शान्तिका लागी ?
के नै गर्न सक्छस् , खोप नपाएका मनहरुमा सल्किएको क्रान्तीका लागी..?
के गर्न सक्छस् , बलात्कृत चेलीहरुले न्याय नपाएको देशमा ?
के नै गर्न सक्छस् , नातावाद र कृपावादले प्रशासन नै चपाएको देशमा?
के गर्न सक्छस् ,श्रमको उचित कदर नभएको देशमा ?
के नै गर्न सक्छस् , जनताको भोट समेत बदर भएको देशमा ?
के गर्न सक्छस् , परिवर्तनको निमित्त विपी र मदन नै सदाका लागि लाश भएको देशको ?
के नै गर्न सक्छस् , महिनौँ पिच्छे काण्डै काण्ड दुनियाँसामु पर्दाफास भएको देशमा ?
के नै गर्न सक्छस् र, काण्डै काण्डहरु गुपचुपमा मिलाउने निकायहरु नै दास भएको देशमा ?
के गर्न सक्छस् ,सत्ता प्रप्तिका लागि खिच्चातानी चलेको देशमा ?
के नै गर्न सक्छस् , प्रजाप्रति अथाह माया राख्ने श्रीपेच नै ढलेको देशमा ?
के गर्न सक्छस् शान्तिको दियोलाई अशान्तीले धोएको देशमा ?
के नै गर्न सक्छस् र , प्राकृतिक विपत्तीले हरपल नेपाल आमा नै रोएको देशमा ?
हो......
प्रश्नै प्रश्न ले आज म थला परेको छु
प्रश्नै प्रश्न ले आज म प्रश्नवाचक भई सबैको गला परेको छु ।।।
-- दिलीप पोखरेल




